बाहिर मुलुकबाट आयात गरिएका पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीमा कुनै रोग लागेको छ ,छैन भनी एकिन गर्न तोकिएको ठाउंमा तोकिएको अवधिसम्म राखी जाचिने प्रकृयालाई क्वारेन्टाइन भनिन्छ ।
नेपाल एक भूपरिवेष्टित मुलुक हो । यस मुलुकमा करिब १७५३ किलोमिटर जति खुल्ला सिमाना भारत संग छ । खुल्ला सिमाना भएकोले आवत जावत गर्ने पशुपंक्षीको निगरानी र तिनीहरुबाट भित्रीने संक्रामक रोगको नियन्त्रण गर्न पशु क्वारेन्टाइनलाई व्यवस्थित पारेर लैजानु आजको आवश्यकता हो ।
विरामी भइसकेपछि पशुहरुको उपचार गर्नु भन्दा देश बाहिरबाट देश भित्र नयां रोग भित्रिन नदिनु उपयुक्त हुन्छ । एकातिर विरामी पशुको उपचार बरावर गर्नु पर्दा पशु पालक किसानहरु हतोत्साही हुन्छन् भने अर्कोतिर केही रोग यस्ता छन् जसको उपचार नै संभव नहुँदा उन्नत तरिकाले पशुपालन गरी अन्य देशको तुलनामा सस्तो र गुणस्तरको पशुजन्य पदार्थ उत्पादन गरी प्रतिस्पर्धामा उत्रिन नसकिने कुरालाई नकार्न सकिदैन । पशुहरुमा नया रोगहरुको प्रवेशमा रोक लगाउन तथा त्यसबाट हुने आर्थिक क्षति लाई न्यूनिकरण गर्न समेत क्वारेन्टाइनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।
दीर्घकालीन कृषि योजना अनुसार नेपाल सरकारको गरीबी निवारणमा विदेशबाट आउने नयां रोगलाई रोक्न सकेमा पशु पालन व्यवसाय फस्टाई स्वरोजगार तथा आर्थिक स्थितिमा सुधार हुने देखिन्छ । नेपालको ग्रामीण अर्थतन्त्रमा पशुपालनको ठूलो महत्व रहेको छ । तसर्थ यस व्यवसायमा देखा परेका समस्याहरुलाई कम गरी यस पेशालाई आर्थिक दृष्टिकोणले अझ बढी फलदायी बनाउन सके बहुसंख्यक कृषकहरुको आम्दानी बढी देशकै अर्थतन्त्रमा सुधार हुनसक्ने देखिन्छ ।
यस व्यवसायमा देखिएका प्रमुख समस्याहरुमध्ये पशु रोग पनि एउटा हो । विभिन्न रोगहरुको कारण हुने पशुहरुको मृत्यू, उनीहरुको उत्पादकत्वमा कमी आदिले वर्षेनी अरवौं रुपैयाँ नोक्सान भइरहेको अनुमान गरिएको छ । जस्तैः गाई, भैसीको खोरेत रोग भेडा, बाख्रामा हुने पि.पि.आर. कुखुरामा बर्डफ्लु, गम्बोरो, आदिरोगहरुले अरु थप नोक्सानी गराई रहेको छ । फलस्वरुप यस व्यवसायप्रति कृषकहरुको नैराश्यता बढ्नु स्वभाविक नै छ । भविष्यमा पशु ,पशु जन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको निकासी तथा पैठारीमा नियन्त्रण गर्न पशु क्वारेन्टाइनलाई प्रभावकारी रुपमा अघि वढाउनु पर्ने आवश्यकता देखिन्छ ।
यसरी पशु रोगहरुको संख्या र प्रकोप बढ्दै जानुको एउटा प्रमुख कारण पशुपंक्षीजन्य उत्पादनको अनियन्त्रीत आवत जावतलाई लिन सकिन्छ । तसर्थ देशभित्र फैलिनसक्ने र छिमेकी देशहरुबाट भित्रीन सक्ने संक्रामक रोगहरुलाई समयमै नियन्त्रण गर्न र भविष्यमा पशुजन्य उत्पादनमा आधारित अद्योगहरुलाई वढावा दिइ बहुसंख्यक कृषकहरु आधारित रहेको यस व्यवसायलाई बढी लाभदायक बनाउन पशु क्वारेन्टाइनको महत्वपूर्ण भुमिका हुनेछ ।
नेपालमा १९६० को दशकमा गौगोटी रोगको महामारी फैलिदा पशु क्वारेन्टाइनको महत्वलाई मनन गरी तत्कालै चार विकास क्षेत्रबाट तराईबाबट पहाड तर्फ रोग नफैलियोस भन्ने उद्देश्यले एक एक वटा क्वारेन्टाइन चेकपोष्टहरु स्थापन गरिएको थियो । त्यसपछि सन् १९८० देखि १९८५ सम्म एसियाली विकास बैंकको ऋण सहयोगमा संचालित पहिलो पशु विकास आयोजनाले दक्षिण सिमानाको पशु वस्तुहरु आवत जावत हुने प्रमुख नाकाहरुमा थप २० वटा चेकपोष्टहरु स्थापना गरिएको थियो ।
सन् १९९२ मा कृषि मन्त्रालयको पुनर्संरचनामा चेकपोष्टको महत्वलाई पुनः स्थापित गरी केन्द्रमा एउटा पशु क्वारेन्टाइन शाखा र २४ चेकपोष्टहरुमा दक्ष जनशक्तिको व्यवस्था भयो ।
वि.सं. २०६१ सालमा चेकपोष्टहरुलाई विभिन्न कार्यालय अन्तरगत समाहित गरी आठवटा क्वारेन्टाईन कार्लालयहरुको स्थापना भयो । जसमध्ये विराटनगर पनि एक हो जसमा बरिष्ठ पशुचिकित्सक –१, पशु चिकित्सक –४, पशु स्वास्थ्य प्राविधिक– ६, लेखापाल–१, खरिदार–१, कार्यालय सहयोगी –४ र हलुका सवारी चालक–१ को व्यवस्था गरिएको छ ।
यसले आफ्नो कार्यक्षेत्र मोरङ्ग, सुनसरी र सिराहामा नेपाल सरकारको नीति निर्देशन बमोजिम आफ्नो कार्यक्रम संचालन गर्दै आईरहेको छ ।