पशु सेवा कार्यमा समर्पित यस कोशी प्रदेशमा अवस्थित पशु क्वारेन्टाइन कार्यालय विराटनगर अन्तरगत कोशी प्रदेशमा मोरङ्गको पशु क्वारेन्टाइन चेकपोष्ट रानी,सुनसरीको पशु क्वारेन्टाइन चेकपोष्ट भण्टावारी र मधेश प्रदेशमा सिराहाको पशु क्वारेन्टाइन चेकपोष्ट माडर रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमामा पनि पशु पंक्षि,पशु उत्पादन सामाग्री तथा पशु जन्य पदार्थहरुलाई तोकिएको नाका भएर आवत जावत तथा निकासी पैठारी गरिने क्रममा रोगी—निरोगी बारे निरीक्षण तथा जाँच पड्ताल गरी राष्ट्रिय पशु पंक्षि धनको सुरक्षामा पशु क्वारेन्टाइन कार्यालयले अहम भूमिका खेलेको छ ।

विश्व समुदायको खुल्ला अर्थतन्त्रसंगै उदय भएको विश्व व्यापार संगठनमा नेपालले सदस्यता लिएको कारणबाट पनि आगामी वर्षहरुमा क्वारेन्टाइन प्रणालीलाई अझ चुस्त बनाउनुपर्ने मुलुकको अगाडी चुनौती खडा भएको देखिन्छ । यसै परिप्रेक्षलाई मध्यनजर गर्दा कृषि अर्थतन्त्र भएको हाम्रो मुलुकमा पनि पशु क्वारेन्टाइन व्यवस्थापनको आवश्यकता अझ समय सापेक्ष देखिन्छ । वि. सं. २०६१ सालमा चेकपोष्टहरुलाई विभिन्न कार्यालय अन्तरगत समाहित गरी ८ वटा पशु क्वारेन्टाइन कार्यालयहरुको स्थापना गरियो । पशु क्वारेन्टाइन कार्यालय विराटनगरले आफ्ना कार्यक्रमहरु पशु क्वारेन्टाइन चेकपोष्ट रानी, भण्टावारी र माडर मार्फत संचालन गर्दै आएको छ । यसै क्रममा हामीलाई समय समयमा अमुल्य निर्देशन तथा सुझाव दिने पशु सेवा विभाग तथा पशु क्वारेन्टाइन महाशाखाका प्रमुख ज्यूहरुलाई पनि धन्यवाद दिन चाहन्छु । साथै कार्यक्रम संचालनमा सहयोग पुर्याउनु भएका यस कार्यालयका सम्पूर्ण कर्मचारीहरु लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । यसरी क्वारेन्टाइनको कार्य विस्तार भइ विश्व पशु स्वास्थ्य संगठन तथा विश्व व्यापार संगठनको मापदण्ड अनुरुप कार्य गर्न सक्षम बन्दै जाने विश्वास लिएको छु ।

डा.बिदुर प्रसाद गौतम

(व.प.चि.)